नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन विरोधी सरकार भएको बताएका हुन् ।

उनले अलिकति पनि राजनीतिक विवेक राख्ने र ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको बताए । उनले अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकर शाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष दाहालले भने– ‘देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ। एकातिर सडकमा लाखौँको सङ्ख्यामा आन्दोलनरत शिक्षकहरू छन् । झन्डै अब एक महिना हुन लाग्दैछ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ ।’

अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।

प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताए । उनले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रवादी सफल भएको जिकिर गरे ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय