
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि २३ नेपाली अमेरिकाबाट डिपोर्ट भएर स्वदेश आइपुगेका छन् ।
एजेन्टहरूले विभिन्न रुटमार्फत नेपालीलाई अमेरिका लैजाँदै आएका छन् । एजेन्टले अमेरिकामा नेपाली लैजान विशेषगरी तीनवटा रुट प्रयोग गर्दै आएको देखिन्छ ।
काठमाडौंबाट दुबई–काजकिस्तान हुँदै टर्कीबाट अमेरिका, काठमाडौंबाट दिल्ली हुँदै दुबईबाट अमेरिका, काठमाडौंबाट दिल्ली हुँदै मेक्सिकोबाट अमेरिका पुर्याउने गरेको देखिन्छ ।
यी रुटबाट अमेरिका पुर्याएपछि एजेन्ट सम्पर्कविहीन हुन्छन् । सन् २०२५ जनवरी २२ देखि हालसम्म अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सम्पर्क गर्न भनेको छ ।
२३ जना नेपाली ब्यूरोको सम्पर्कमा पुगेका छन् । तर, उनीहरू एजेन्टविरुद्ध उजुरी दिन तयार छैनन् ।
हाल फर्काइएका नेपालीहरू दाङ, रुकुम, सल्यान, दैलेख, प्युठान, बाग्लुङ र सुनसरीका छन् ।
ब्यूरोमा उनीहरूले खुलाएअनुसार अमेरिका जान एजेन्टलाई कसैले ६० लाख, कसैले ७० लाख त कसैले एक करोड २४ लाख रुपैयाँसम्म बुझाएका थिए ।
केहीले एजेन्टको नाम पनि ब्यूरोमा टिपाएका छन् ।
कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा अनुसार डिपोर्ट गरिएका २३ मध्ये ४ महिला र १९ पुरुष छन् ।
अमेरिकाले काठमाडौं ल्याएर उनीहरूलाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाउँदै आएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो ।
त्यसपछि नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई भटाभट नेपाल फिर्ता गरिएको हो ।
विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईका अनुसार अमेरिकाबाट डिपोर्ट भएर आएका नेपालीहरू कुनै अपराधमा संलग्न थिए वा थिएनन् र उनीहरू कुन एजेन्टमार्फत अमेरिका पुगेका थिए भन्ने विषयमा अनुसन्धान गर्न मानव बेचबिखन ब्यूरोमा सम्पर्क गर्न भनिएको हो
‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान चलाउँदै आएको छ ।
अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट डिपोर्टमा परी २२ र २४ जनवरीमा १/१ जना, जनवरी २९ मा १ जना, जनवरी ३० मा २ जना, ३१ मा १ जना फिर्ता भएका थिए । फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना र फेब्रुअरी १७ मा १ जना गरी कुल २३ जना नेपाली डिपोर्ट भएका छन् ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार डिपोर्ट गरिएकामध्ये कोही ५/६ महिना त कोही १३ महिनासम्म अमेरिकामा बसेकाहरू छन् ।
‘अवैधरूपमा बस्दै आएका आप्रवासीलाई अमेरिकाले पहिला पनि डिपोर्ट गर्दै आएको थियो,’ कुँवरले लोकान्तरसँग भने, ‘अहिले अमेरिकाले नेपालमात्रै नभएर अन्य मुलुकका नागरिकलाई पनि फर्काउने नीतिमा कडाइ गरेको मात्रै हो ।’
कुँवरका अनुसार ब्यूरोको सम्पर्कमा आएका अधिकांश नेपालीले एजेन्टका बारेमा खुलाउन मानेका छैनन् । उनीहरूमा कुनै पश्चाताप पनि देखिँदैन ।
‘पैसा बुझाएर गएको हो, एजेन्टले अमेरिका पनि पुर्याएकै हो, अब उसलाई किन दुःख दिने पो भन्दैछन्,’ कुँवरले भने, ‘हामीले तपाईंहरूको ठूलो रकम त डुब्यो नि, एजेन्टविरुद्ध उजुरी दिनुस् भन्छौं, तर उनीहरू मान्दैनन् ।’
ब्यूरोका अनुसार अवैधरूपमा अमेरिका जानका लागि लाखौं बुझाएर बिचल्लीमा पर्ने कैयन नेपाली छन् ।
‘अमेरिका जान ज्यानकै जोखिम मोलिने गरेको कुरा पीडितहरूले बताउँदै आएका छन् । ऋण काडेर एजेन्टलाई मोटो रकम बुझाएको देखिन्छ,’ ब्यूरोका एक अनुसन्धान अधिकृतले भने, ‘जो फर्किएर आयो उसमा बेचैनी देखिँदैन, बरु परिवारमा भने बेचैनी देखिन्छ ।’
खासमा डिपोर्ट भएका नेपालीलाई पनि अमेरिका जाने बेलामा एजेन्टलाई बुझाएको रकम फिर्ता नपाइएला वा उनीहरूबाटैै ज्यानको जोखिम होला कि भन्ने त्रास देखिन्छ । त्यही भएर ब्यूरोमा उजुरी दिन डराएको प्रहरीको आशंका छ ।