वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिबद्धता जनाएका छन् । शनिवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको बताए । जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको पनि उनले जानकारी दिए ।

जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको उनकाे भनाइ छ । मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए । निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताए ।

मन्त्री ठकुरीले भने, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय युवाहरुका मुद्दाहरुलाई गम्भीरताका साथ लिइरहेका छौँ । युवाहरुका मुद्दाहरु, युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्नका लागि हामीले अघि बढाइरहेका छौँ । युवाको संरचनागत हिसावले केन्द्रदेखि तल्लो स्थानीय तहसम्म पनि युवाहरुका आवाजहरु सुनिने, युवाहरुका मुद्दा स्थापित गर्नका लागि संरचना स्थापित भएका छन् । निकट भविष्यमै युवा नीति पास गर्न गइरहेका छौँ । त्यसका माध्यमबाट पनि यहाँहरुका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर छ । युवा सशक्तिकरणका लागि, युवालाई हरेक अवसरमा सहभागी गराउन नेपाल सरकार प्रयत्नरत छ । जलवायु परिवर्तनका कुराहरु केबल वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवालातिर भन्दा पनि यसलाई तल्लो स्तरबाट स्थापित गर्दै अब त जलवायु परिवर्तनका कुरा पाठ्यक्रममा पनि समावेश गरेर विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था छ । त्यसको प्रक्रिया अघि बढाइरहेका छौँ । सबै पक्षमा हामी लागिरहेका छाैँ । सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा यसको प्रयासहरु गर्दै जानेछौँ ।’

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभएर सशक्तिकरणको मुद्दा पनि भएको बताए । उनले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताए । भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको उनकाे भनाइ छ । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप) का लागि नभएर आफ्नो जीवनसँग जोडेर हेर्न जरुरुी रहेको उनकाे भनाइ छ ।

उनले भने, ‘जलवायु परिवर्तनको मुद्दा सशक्तिकरणको मुद्दा पनि हो । जलवायु परिवर्तनको मुद्दा मात्र पर्यावरणको मुद्दा होइन । यसले बहुविषयहरुमा सरोकार राख्दछ । यो राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक मुद्दा पनि हो । जुन पुस्ताको भविष्य भोलि छ, हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई पर्यावरणसँग जोडेर भोलिको पुस्तालाई पर्यावरणको सबै कुराको जानकारी दिनुपर्छ । हामी जलवायु परिवर्तनको कुरा कि कोपमा जानु भन्दा एक महिना अगाडि शुरु गर्दछौँ, की आइसकेपछि एक महिना, दुई महिना, तीन महिनासम्म गर्छौं । त्यसपछि सकियो । आधारभुत रुपमा यो कोपका लागि होइन । यो कुरा हाम्रो भविष्यसँग चिन्तित भएर गरिएको हो ।’

महाप्रबन्धक ऐरीले जलवायु शिक्षाको बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गरे । जलवायु परिवर्तनमा नेपालको सरोकार, समाज र व्यक्तिले गर्ने योगदानका बारेमा बुझाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ । जलवायु परिवर्तनको मुद्दा माग्ने, दिने र प्राप्त गर्ने भन्दा नेपालले किन जलवायु परिवर्तनको मुद्दा उठाइरहेको छ ? भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी रहेको उनकाे धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय