नेकपा एकीकृत समाजवादीले वर्तमान सत्तागठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको दाबी गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि-४) जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ भएको दोहोर्‍याएको छ ।

अपानिमा भनिएको छ, ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ ।’

सरकार देश र जनताको हित प्रतिकूल अगाडि बढिरहेको पनि उसको दाबी छ । उदाहरणको रुपमा सरकारले जारी गरेका अध्यादेशहरूलाई देखाइएको छ । ‘वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ’ अपानिमा उल्लेख छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि एकीकृत समाजवादीको बुझाइ छ ।‘यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’

सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ ।

‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ । यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’ अपानिमा भनिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको टिप्पणी पनि छ । सरकारका समग्र गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरिएको छ ।

सरकारको कामको विरुद्ध प्रतिपक्षी दलहरू एक रहेको भनिएको छ ।

‘हाम्रो समेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपर्युक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत साझा धारणा सार्वजनिक गरेका छन् ।’

४ माघमा नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसेको विपक्षी दलहरूले संसद्मा विभिन्न विषयमा सहकार्य गर्ने गरी संयुक्त वक्तव्य जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय