
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले सहभागी अहिलेको सरकार अप्राकृतिक भन्नेहरूले जनतालाई दिग्भ्रमित बनाउन खोजेको बताएका छन् । जनताबाट अस्वीकृत भएकाहरूले त्यस्तो भ्रम फैलाइरहेको उनको भनाइ छ ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे ।
कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेको भन्दै उनले जनताको बिचमा जाने बेलामा दुवै दल एक्लाएक्लै निर्वाचनमा सहभागी हुने बताए ।
‘देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक छन्,’ उनले भने, ‘अब नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जान्छन् । त्यसपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने दिन सकिनेछ ।
एमाले पार्टीको नीति एमालेको मात्र नीति नभएर देशको नीति बन्नुपर्ने बताएका पोखरेलले त्यसका लागि २०८४ मा एमालेको एकल बहुमतको सरकार हुनुपर्ने जिकिर गरे ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै उनले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । प्रधानमन्त्री ओली राष्ट्र निर्माण गर्ने व्यक्ति भएको चर्चा गर्दै उनले अहिले ओलीमाथि चौतर्फी हमला भइरहेको बताए । नराम्रो काम गरेकाले नभई नेपाललाई असफल बनाउन चाहनेहरू सक्रिय भएकाले एमाले र केपी ओलीमाथि हमला भइरहेको उनको भनाइ थियो ।
उनले समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली आशाको संवाहक भएको जिकिर गरे ।
राजनीतिमा युवा पुस्तालाई अवसर दिने पार्टी एमाले मात्र भएको बताउँदै उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको बताए । ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ,’ उनले भने ।