कांग्रेस एमालेको सहकार्यबाट केपी शर्मा ओली नेत्तृत्वको सरकार बनेपछि बालुवाटारबाट खुमलटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एउटै रटान लगाइरहेका छन् । उनी जहाँ पुग्छन् भनिहाल्छन्, अब यो सरकार धेरै टिक्दैन, अलिकति बल लगायो भने ढलिहाल्छ ।

नेपाली राजनीतिको किङमेकर ठान्ने प्रचण्ड आफु नेत्तृत्वको सरकार अप्रत्याशितरुपमा ढलेपछि केही समय खुमलटारमै रन्थनिएर बसे । त्यसपछि सरकार ढाल्ने अनेक तत्वहरुको खोजीमा प्रचण्डले पुरै शक्ति लगाइरहेका छन् । यद्यपी प्रचण्डको मिसनले सार्थकता पाउन सकिरहेको छैन । तर प्रत्येक दिनजसो आफु नेत्तृत्वको सरकार ढल्नुको नयाँ नयाँ कारण बताएर उनले सत्ता आशक्ति देखाइरहेका छन् ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जहाँ पुग्छन् उनको मुखबाट फुत्किहाल्छ ‘यो सरकार धेरै टिक्दैन, अब ढलिहाल्छ’ । आफुलाई अप्रत्यासितरुपमा सरकारबाट हटाएर एमाले अध्यक्ष केपी शर्मा ओली नेत्तृत्वमा नयाँ सरकार बनेपछिका करिब ६ महिना प्रचण्डले यस्तै रटान लगाएरै बिताएका छन् ।

बिहिवार सुर्खेत पुगेका प्रचण्डले आफ्नो त्यही रटान दोहो¥याए अनि भने ‘अब यो सरकार धेरै जाँदैन, अलिकति बल लगायो भने ढलिहाल्छ ।’

प्रचण्डले आफ्नो सरकार ढल्नुका कैयौ कारणहरु बताइरहेका छन् । शुरुमा उनले बंगलादेशमा सत्ता उल्टाइदिने शक्तिले नै आफ्नो सरकार ढालेको हो समेत भन्न भ्याए । अलिपछि बेचन झा पक्राउ गरेपछि सरकार ढलेको दाबी गरे । त्यसपछि उनले फेरि आफु नेत्तृत्वको सरकार ढल्नुको अर्को कारण बताए । धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियामा ठूला माफियाहरुको चलखेल हुँदा आफ्नो सरकार ढलेको उनको तर्क थियो ।

अप्रत्यासित सत्ता बहिर्गमनबाट छटपटिएका प्रचण्ड यतिबेला जहाँ पुग्छन् त्यही सरकार ढलिहाल्ने दाबी गरिरहन्छन् । पुस १६ मा विपक्षी दलहरुको छलफलपछि सिंहदरबारमा, माघ १ मा सिन्धुपाल्चोकमा, माघ ८ गते चितवनमा र माघ १० गते नेपालगञ्जमा प्रचण्डले अहिलेको सरकार ढलिहाल्ने दावी गरे ।

आफ्नो सरकार ढल्ने कैयौ कारण खुलाएका प्रचण्डको ध्यान पछिल्लो तीन महिना यताचाहिँ सरकार ढाल्ने वा ढलिहाल्ने तर्फ केन्द्रीत देखिन्छ । उनले अहिलेको सरकार ढाल्ने आफ्नो प्रष्ट उद्देश्य भएपनि सरकार ढाल्न आफू खास सक्रिय नभएको भन्न चाहिँ उनी छुटाउँदैनन् ।

सरकार ढलिहाल्छ भनेर दैनिकजस्तो भन्ने गरेपनि वर्तमान सरकार कसरी ढल्छ भने ठोस आधार चाँही उनले देखाउन सकेका छैनन् । ढलिहाल्ने ठोस आधार उनले देखाएका छैनन् । तर अध्यक्ष प्रचण्डको विश्लेषणमा अहिलेको सरकार लामो समय नटिक्नुको कारण यस्ता छन् ।

सरकार अप्राकृतिक, अस्वभाविक, अपारदर्शी, अलोकतान्त्रिक, असंवैधानिक रहेको र बिचौलियाले गठन गरिदिएका कारण धेरै टिक्दैन ।

गत मंगलवार नेपाली कांग्रेसका डाक्टर शशांक कोइराला र डाक्टर चन्द्र भण्डारीसँगै देखिएका प्रचण्डले ‘अहिलेको सरकार नटिके कांग्रेस र माओवादीको समिकरण छँदैछ नी’ भनेका थिए । अर्थात वर्तमान सरकार ढल्नासाथ माओवादी सरकारमा जान तम्तयार अवस्थामै छ । तर आफ्नो पार्टी सरकारमा होइन, जनतासँगै रमाएको, सरकारमा जान कुनै रुची नरहेको भन्दै उनले सत्ता आशक्ति पटक पटक लुकाउने प्रयास गर्दै आइरहेका छन् ।

७८ सांसदको डफ्फा !

शान्ति प्रक्रिया यता माओवादी केन्द्र अधिकांस सत्ताकै सेरोफेरोमा छ । तर कांग्रेस एमाले गठबन्धनपछि सत्ताबाट किनारा लागेपछि भने माओवादी केन्द्रभित्रको छटपटि छरपष्ट भएको छ । प्रतिपक्षीको कित्ताबाट सत्ता पक्षमा पुग्न प्रचण्ड एदकमै आतुर देखिन्छन् ।

त्यसैले पनि उनले अनेक रणनीतिक तानाबाना समेत बुनिरहेका छन् । माघ ४ गते विपक्षी दलका नेताहरुलाई उनले एकैठाउँमा ल्याए । उनले माघ ४ मा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, नेसपा, राजमो लगायतका सातै दलका नेताहरुलाई एउटै कित्तामा ल्याए । प्रतिपक्षी सात दलका नेताहरुले सरकारप्रतिको पाँच बुँदे साझा धारणा पनि सार्वजनिक गरे ।

अहिले प्रतिपक्षी सात दलमा ७८ सांसद छन् । यति सांसद संख्याले सरकार बनाउने ल्याकत राख्दैन । कांग्रेस र एमालेमध्ये एकले साथ नदिएसम्म प्रचण्ड जति उफ्रिएपनि केही हुनेवाला छैन । तर कांग्रेस र एमालेबीच कुनै खटपट आउने बित्तिकै प्रचण्डलाई ७८ सांसदको डफ्फा अवसर बन्न सकछ । त्यसैले पनि उनले ७८ सांसद देखाउँदै कांग्रेसलाई सत्ता नेत्तृत्वको निम्तो दिइरहेका छन् । प्रतिपक्षी दलको ७८ सांसद संख्या कांग्रेसका लागि पनि एमालेलाई चेक एण्ड ब्यालेन्समा राख्ने अस्त्र बनेको छ ।

राजनीतिमा को कतिबेला सत्रु र मित्र बन्छ भन्ने स्वार्थले नै निर्धारण गर्ने हुँदा एमाले समेत जुनसुकै बेला प्रचण्डको प्रस्ताव स्वीकार्ने अवस्थामा पुग्न सक्छ । कांग्रेस र एमालेसँग मिलेर झण्डै १९ महिना सरकार चलाएका प्रचण्ड फेरि तीन दुई दलमध्ये एक दलको सहयोगमा सत्तामा पुग्न चाहन्छन् । त्यसैले पनि अहिले उनी हरेक दिनजसो एमाले कांग्रेसबीचको खटपटको कामना गर्दै सरकार ढल्ने दिन गनिरहेका छन् ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय