
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद निर्वाचनमा देखिएको विवाद समाधानका लागि पार्टीकाे केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा सदस्य दावा लामा र शालिग्राम सापकोटा सदस्य रहेको क्रान्तिकारीका केन्द्रीय कार्यालयका प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार छानबिन समितिलाई एक महिनाको समय सीमा दिएको छ । पुस १३ गते भएको ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा भएको मतदानमा खुला पक्षधर २१ मतले पराजित भएको थियो ।
माओवादीको २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चासिंह सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदललाई माघ ८ गतेसम्म प्रतिवेदन बुझाउन पार्टीले निर्देशन दिएको छ ।