
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।
बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।
आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।