
काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।
बाँके घर भई सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय सरुप महतोको शव बुधबार बिहान साढे ७ बजेतिर बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महताेकाे बाढीमा परी मृत्यु भएको हुन सक्ने बताएका छन् ।
प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।