प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको ४५औं प्रधानमन्त्री नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामनापत्र लेखेका छन् ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले सामाजिक सञ्जालबाट बधाई दिएका मोदीले दुई पानाको लिखित बधाई पठाएका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार भारतले आफ्नो ‘छिमेक पहिले’ नीति अन्तर्गत नेपाललाई आफ्नो विशेष प्राथमिकताको साझेदार मानेको मोदीको पत्रमा उल्लेख गरिएको छ ।

‘नेपालमा प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबीचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुबै देशका जनताका लागि लाभदायक हुने विश्वास मोदीले व्यक्त गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘नेपाललाई भारतको ‘छिमेक पहिले’ नीतिअन्तर्गत विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख छ । मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर साझेदार हुन प्रतिबद्ध रहेको जनाउनुभएको छ ।’

अढाई पृष्ठ लामो चिठीको पूर्ण विवरण सार्वजनिक नगरिए पनि पारस्परिक लाभको साझेदारीलाई मजबुत पार्दै र नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषण गर्दै अगाडि बढ्ने तत्परता मोदीले व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयले दिएको जानकारी अनुसार  ‘पुरातन सभ्यता, सांस्कृतिक सम्बन्धका साथै खुला सिमानाले सिर्जना गरेको दुई देशका जनताबीचको बलियो सम्बन्ध भारत–नेपाल सम्बन्धका विशेषताका रूपमा रहेको मोदीको पत्रमा लेखिएको छ । यसखालको सम्बन्धले दुई देशबीचको साझेदारीलाई ऊर्जा, जोश र बल प्रदान गरिरहेको चर्चा गर्दै सन्देशमा पछिल्ला वर्षहरूमा द्विपक्षीय सहकार्यले सम्पर्क, ऊर्जा, विकासात्मक साझेदारी र जनताबीचको आदान–प्रदानका क्षेत्रमा प्रगति देखाएको चर्चा चिठी मा छ ।’

नेपाल र भारतको सम्बन्धलाई अगाडि बढाउन ओलीले विगतदेखि नै गर्दै आएको योगदानलाई भारतले सधैं महत्व दिएको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा बताएका छन् । उनले ओलीको सुस्वास्थ्य र कल्याणका लागि शुभेच्छा व्यक्त गर्दै नेपाली जनताका निरन्तर प्रगतिको कामना समेत गरेका छन् ।

ओली नेपालका ४५औं प्रधानमन्त्री बनेकै दिन मोदीले ट्वीटरमार्फत् बधाइ दिएका थिए । नेपाली पक्षले मोदीको औपचारिक चिठी पनि प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय