अनलाइनमार्फत खेलिने जुवा नेपालको कानूनअनुसार वैध छैन । तर पछिल्लो समय अनलाइन सट्टेबाजीमा फस्ने युवाको संख्या बढ्दो छ ।

जुवा खेलाउने गिरोहले करोडौं रुपैयाँ कारोबार गरेको जानकार हुँदाहुँदै पनि प्रहरी अनुसन्धानमा जटिलता पैदा हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । कनेक्ट आईपीएसमार्फत जुवा खेलाउने गिरोहले सट्टेबाजी गराइरहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार मात्रै अनलाइन जुवा तथा सट्टेबाजी गराएको आरोपमा काठमाडौं महानगरपालिका– ५ का किपेश महर्जनलाई पक्राउ गरेको थियो ।

३० वर्षीय महर्जनले वेटिङ साइटमा पहुँच पुर्‍याएर वानएक्सवेटमार्फत जुवा खेलाएका थिए । उनको बैंक खाताबाट २ करोड ७२ लाख ९० हजार २ सय ५० रुपैयाँ कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका– २ बस्ने २४ वर्षीय अनिल ढुंगानाले अनलाइन जुवामार्फत ठगी गरेको प्रसंग रोचक छ । ढुंगानाले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा मानिसहरूलाई अनलाइनमार्फत जुवा खेलाउँथे ।

वान एक्स बेट, जुवा ३६५ र क्रिप्टोमार्फत सट्टेबाजी लगाएर रकम संकलन गर्ने ढुंगानाले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ढुंगानाको ११ वटा कनेक्ट आईपीएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट, ५६ वटा बैंक खाता फेला परेका थिए । कनेक्ट आईपीएसलाई बैंक खातामा लिंक गरेर उनले ४८ करोड ८० लाख रुपैयाँ कारोबार गरेका थिए ।

त्यस्तै, कनेक्ट आईपीएपमार्फत ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको थियो

‘ढुंगानाले बाइनान्समार्फत दुईवटा खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टो करेन्सीमा १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ बराबरको कारोबार गरेको देखियो,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने, ‘यो घटनाको चिरफार गर्दा धरै नेपाली युवा अनलाइन जुवाको लतमा फसेको पुष्टि हुन्छ ।’

अनुसन्धान कार्यालयका अनुसार अनलाइन गेम खेलाउने गिरोहले वान एक्स बेट, बाइनान्स, रेड्डी, मोब क्यास, टीम क्यास, एस्ट्रोपेजस्ता बेटिङ एप्लिकेसन चलाउँदै आएका छन् ।

छिट्टै धनी हुने प्रलोभनमा युवाहरू अनलाइन जुवामा फस्ने गरेका छन् । जुवा खेल्ने लत लागेपछि खाता नै रित्तिने अवस्थामा पुगेपछि मात्रै युवाहरू सचेत हुने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लोपटक अनलाइन बेटिङको यो कारोबार हुन्डी र क्रिप्टोकरेन्सीसँग पनि जोडिएको अनुसन्धान कार्यालयले जनाएको छ ।

साइबर अपराधलाई नियन्त्रण गर्ने काममा नेपाल प्रहरीले फाट्टफुट्ट सफलता हात पारे पनि यो गिरोहको भित्री तहसम्म पुग्न आवश्यक जनशक्ति नभएको अनुसन्धान कार्यालयले जनाएको छ ।

सरकारले आवश्यक प्रविधि र जनशक्ति दिन नसक्दा पीडितहरू ठगिएर पुगेपछि मात्रै प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

‘साइबर अपराध नियन्त्रणका लागि प्रहरीलाई सक्षम बनाउन राज्यले कति लगानी गरेको छ ?’ प्रश्न गर्दै अनुसन्धान कार्यालयका एक उच्च अधिकारीले भने, ‘काठमाडौंलगायतका जिल्लामा अनलाइन जुवा खेलाउने एजेन्ट मात्रै हुन्, मुख्य योजनाकार नेपालबाहिरै छन् ।’

साइबरको आडमा अनलाइन जुवा

सर्लाहीको मलंगवामा साइबर सेवाको आवरणमा अनलाइन जुवा खेलाएको पाइएपछि प्रहरीले सञ्जयकुमार साहसँगै स्थानीय रामजी साह र राकेश चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

गत वैशाखमा अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा केही महिनामै यो गिरोहले ५७ करोडको कारोबार गरेको तथ्य खुलेको थियो ।

उनीहरूले कनेक्ट आईपीएसका २१ वटा र बैंकका ९८ वटा खातामार्फत सट्टेबाजीको पैसा लेनदेन गर्दै आएका थिए ।

‘बाहिरबाट हेर्दा साइबर पसल देखिन्छ, तर भित्र उनीहरू अनलाइन जुवा खेलाउन मस्त देखिए,’ एसएसपी भट्टराईले भने, ‘एउटा कोठाभित्र बसेर करोडौंको कारोबार गर्दै आएको सूचना प्रहरीमा पुगेपछि अनुसन्धान अघि बढाइएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय