नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने गरि दुई देशबीच उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेक्रम चलिरहेको छ । चीनले विभिन्न पार्टीका प्रतिनिधिलाई अध्ययन भ्रमणका लागि भन्दै चीन भ्रमण गराइरहेको छ, भने चीनका प्रतिनिधिपनि उच्च महत्व दिएर नेपाल आउनेक्रमलाई जोड दिइरहेका छन् । यसको कूटनीतिक अर्थ के हो त ? यस्ता गतिविधिले के नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनेक्रमले थप उचाई लिन सक्ला ?
कम्युनिष्ट मुलुक चीन नेपालसँग विशेष सम्बन्ध स्थापित गराउने मामलामा कतै पनि चुक्ने गरेको देखिन्न । नेपाललाई सुरक्षा सम्वेदनशिलताका हिसाबले समेत चीनले विषेश ढंगले लिने हुनाले चीनको महत्वमा परिरहेको हुन्छ, नेपाल ।
नेपाललाई उपयोग गरेर शक्तिशाली मुलुकहरुले चीनविरुद्धका गतिविधि तीव्र पार्ने डरका कारण पनि चीनले उच्च महत्व दिने गरेको छ । कूटनीतिक र राजनीतिक सन्तुलनता बढाउनकै लागि प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन् ।
चिनियाँ टोलीको नेतृत्व गर्दै नेपाल आएका बार्टरले नेपाल–चीन सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै नेपाल उच्च प्राथकमितामा पर्ने छिमेकी रहेको दाबी समेत गरेका छन् ।
उनको साथमा चीनको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए । चिनियाँ टोलीसँग सिंहदरबारमा भएको भेटमा नेपालको तर्फबाट प्रधानमन्त्रीसहित प्रचण्डका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा, स्वकीय सचिव रमेश मल्लसहितको सहभागिता रहेको थियो ।
भेटवार्ताका क्रममा प्रचण्डले नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयन हुनेक्रममा रहेको र सम्झौता कार्यान्वयनमा चीन सकारात्मक बाटोमा लागेको भन्दै खुशी समेत व्यक्त गरेको बताइएको छ ।
चिनियाँ चासोमा नेपाल
चीन नेपाललाई उच्च प्राथमिकतामा राखेर सम्बन्ध स्थापित गराउने मामलामा चतुर छ । भारतमा नरेन्द्र मोदीले सत्ताको नेतृत्व गरेको र भारतको प्रभाव नेपालमा पर्न सक्ने स्थितिलाई चीनले नजिकबाट हेरिरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले ताइवानले दिएको बधाई स्वीकार गरेपछि क्रुद्ध बनेको चीन र मोदीको सपथमा पुगेका प्रधानमन्त्री प्रचण्डको मनोविज्ञान बुझ्न पनि चीनले सक्रियता देखाएको छ ।
प्रचण्डले सत्ता नेतृत्व गर्दै गर्दा चीनले आफ्नो विपक्षमा नलाग्ने वातावरणको सुनिश्चितता खोजेका कारण पनि चिनियाँ सक्रियता थप बढेको छ । तर, के चीनले दुई देशको हितमा हुने गरि नेपाललाई हेर्ने दृष्टीकोण निर्माण गर्ला ?
वामपन्थी विचारधाराभन्दा बाहिरबाट पनि नेपाललाई हेर्नुपर्छ भन्ने धारणाको विकास गर्ला ? यो आगामी दिनमा चीनले गर्ने व्यवहारिकताबाटै बुझिने देखिन्छ ।