पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतीत गर्ने बताएकी छन् । शनिबार (जेठ २३) ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ साहित्य महोत्सव’मा उनले यस्तो बताएकी हुन् ।
आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनले आग्रह गरिन् । उनले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताइन् । साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको उनले स्पष्ट पारिन् ।
आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाइन् । दुई महिनाको जेलजीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उनले जानकारी दिइन् । उक्त उपन्यास उनले सेवानिवृत्त भएपछि मात्र प्रकाशनमा ल्याएकी थिइन् ।



