बुटवल नारायणगढ सडक अन्तर्गत दाउन्ने खण्डमा धमाधम सडक स्तरोन्नतीको काम भइरहेको छ ।
११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो ।
नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) सडक विस्तारको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा गर्ने गरी ठेक्का लिएको थियो ।
सोही अनुसार भइरहेको काम अझै सकिएको छैन । अहिले ढलान लगायतका काम भइरहेको छ ।
गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।
सडक विस्तार काम लामो समयसम्म नसकिंदा सर्वसाधारणहरूलाई सास्ती भएको छ । वर्षायाममा यो सडकमा हिलो र हिउँदमा धुलो उड्दा सो मार्ग भएर हिंड्ने सर्वसाधारणहरू समस्यामा परेका छन् ।
सडकको हाल रहेको दुई लेनलाई बढाएर २९ किलोमिटर चार लेन र बजार क्षेत्रमा ७० किलोमिटर ६ लेन र दाउन्नेमा १३ किलोमिटर ३ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति काम भइरहेको छ ।
२०७५ चैत ८ मा सुरु भएको सडक विस्तारको काम २०७९ साउन २२ गते भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीयको अवरोध, मजदुरका समस्या र ठेकेदार कम्पनीकै कारणले समयमा हुन सकेन ।
२०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो ।




