निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोग स्रोतका अनुसार, बालेनका अलावा एमाले सचिव महेश बस्नेत र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि मंगलबार स्पष्टीकरण सोधिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हत्यारा भनेर सामाजिक सञ्जालमा गरेको टिप्पणीका सन्दर्भमा बालेनलाई स्पष्टीकरण सोधिएको हो ।
प्रधानमन्त्रीका दाबेदारहरूबीच ‘डिबेट’को विषयमा बालेनले ओलीको स्टाटसमा कमेन्ट गर्दै अमर्यादित शब्द प्रयोग गरेका थिए ।
यस्तै, बालेनलाई छाउरा भनेको लगायतका विषयमा महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको छ ।
हर्क साम्पाङलाई चुनावमा बालबालिका प्रयोग गरेको तथा पार्टीको टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दियो ।
यसैगरी, निकोलस भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको र जानुका पाठकलाई अन्य उम्मेदवारका सम्बन्धमा घृणाजन्य शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको निर्वाचन आयोग स्रोतले बतायो ।
यस्तै, स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएको स्थितिमा अधिवेशन गरेको र एक शिक्षकको सरुवा भएको विषयमा पनि स्पष्टीकरण सोधिएको छ ।




