राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान जारी छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया थालिएको हो ।

यहाँ प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाले । लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन राष्ट्रियसभा सदस्य विजयी हुनेछन् ।

तीन सिटका निम्ति आठजना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनबाट तीन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई उमेदवार छन् ।

गठबन्धन अनुसार, कांग्रेसको भागमा अपांगता तथा अन्य समूहको कोटा परेको छ । एमालेको भागमा महिला कोटा परेको छ । कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का वासुदेव घिमिरे र अन्य समूहतर्फ गुल्मीको रेसुंगा नगरपालिका–३ का चन्द्रबहादुर केसी उमेदवार छन् ।

महिलातर्फ एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री उमेदवार छिन् ।

नेकपाबाट महिला कोटामा पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगतातर्फ बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ का वृहस्पति अधिकारी चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उमेदवारी दिइएको छ । महिलातर्फ प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानकै मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उमेदवार बनेका हुन् ।

लुम्बिनीमा ८३ प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० मतदाता छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय