माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल नहुने भएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्नका लागि नेकपाले मतभार अनुसार कम्तीमा चार सिट दाबी गरेको थियो । तर एमालेका अध्यक्ष केपी ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा भागबण्डा नमिलेपछि नेकपा बाहिरेको छ । कांग्रेस र एमालेले आफूखुसी भागबण्डा गरेकाले एकल उम्मेदवारी दिने तयारी भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।
‘हामीले सम्मानजनक सिट बाँडफाँटको प्रस्ताव राखेका थियौँ । तर त्यसमा कांग्रेस र एमाले सहमत भएनन् । एकल उम्मेदवारीको तयारी भइरहेको छ’, पुनले भने ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आर्चायले कांग्रेस र एमालेसँग सहकार्य नहुने बताए । अब एक उम्मेदवारी दिने विषयमा आन्तरिक छलफल भइरहेको उनको भनाइ छ ।
‘मतभार अनुसार हामीले चार सिट पाउनुपर्ने प्रस्ताव गरेका थियौँ । तर उहाँहरूले एक÷दुई सिटमा टार्न खोजेपछि सहमत हुन सकेन’, उनले भने ।
कांग्रेसका नेता रमेश लेखकले नेकपा समेतको तालमेल गर्ने प्रयास असफल भएको उनले बताए । लेखकका अनुसार नेकपा सहभागी नभएपछि १८ सिटमा कांग्रेसले ९, एमाले ८ र जनता समाजवादी पार्टीले १ सिट पाउनेगरी सहमति भएको जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टीसँग कुरा मिल्न सकेन । अरु तीन शक्तिबिच तालमेल हुने निश्चित भएको छ,’ उनले भने ।
तर नेता रामकुमार भट्टराईले आ–आफ्नै तरिकाले उम्मेदवारी दिएपनि सहमतिको सम्भावना बाँकी नै रहेको बताए ।
‘कांग्रेस र एमालेसँग गठबन्धनबाट बाहिरिएका छौँ । आ–आफ्नै ढंगले उम्मेदवारी दिन्छौँ । उम्मेदवारी दिँदैमा वार्ताको ढोका बन्द हुँदैन । सहमतिको सम्भावना बाँकी नै छ’, उनले भने ।
उम्मेदवारी दिने विषयमा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
हिजो बेलुका ओली निवास गुण्डुमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक लगायत नेताहरू बसेर तीन दलबिच भागबण्डा मिलाएका थिए ।




