प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने बीच संवाद भएको खुलेको छ ।
प्रधानमन्त्री कार्कीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरूबीच संवाद भएको हो ।
जेलबाट धरौटीमा रिहा भएपश्चात पहिलोपटक आइतबार साँझ सभापति लामिछानेसहित रास्वपा टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री कार्की र रास्वपा नेताहरूबीच शुरूआतमा औपचारिक संवाद भएको थियो । उक्त संवादपश्चात केही समय प्रम कार्की र सभापति लामिछानेले गोप्य संवाद गरेको स्रोतले बतायो ।
‘करिब २० मिनेट उहाँहरूबीच गोप्य संवाद भयो,’ स्रोतले भन्यो, ‘उक्त छलफलमा प्रधानमन्त्रीको सचिवालय र रास्वपा नेताहरू कसैलाई पनि एक्सेस भएन।’
प्रधानमन्त्री कार्कीलाई भेट्न रास्वपा सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सोविता गौतम लगायत पुगेका थिए । उनीहरूलाई बाहिरै राखेर रविले प्रधानमन्त्री कार्कीसँग संवाद गरेका थिए।
‘संवादमा के भयो थाहा भएन । तर, उहाँहरूबीच १५-२० मिनेट गोप्य कुरा भएको हो,’ रास्वपाले स्रोतले पनि पुष्टि गर्यो ।
औपचारिक संवादमा राजनीतिकभन्दा पनि समसामयिक विषय र निर्वाचनकेन्द्रित संवाद भएको थियो । गोप्य संवादमा राजनीतिक र व्यक्तिगत विषयमा कुरा भएको हुन सक्ने स्रोतको अनुमान छ ।
रास्वपाले सभापति लामिछानेमाथि सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ, जसमा प्रधानमन्त्री कार्कीको पनि उस्तै मत छ ।
रास्वपाले पटक-पटक प्रधानमन्त्री कार्कीलाई रविमाथि भएको राजनीतिक प्रतिशोधमा न्याय दिनुपर्ने विषय उठाउँदै आएको छ ।




