जेनजी आन्दोलनपछि मधेशकेन्द्रित राजनीतिक दलहरूबीच पनि ध्रुवीकरणको प्रयास शुरू भएको छ ।

संघीय लोकतान्त्रिक मोर्चा पुनः सक्रिय हुन थालेको छ भने मोर्चाभित्रकै पार्टीहरू एकता तथा सहकार्यका लागि द्विपक्षीय तथा त्रिपक्षीय वार्ता र संवादमा जुटेका छन् । त्यसबाहेक एकल साझा चिह्नमा चुनाव लड्ने बारेमा समेत राजनीतिक दलहरूबीच छलफल तथा सहमति हुन थालेको छ ।

जेनजी आन्दोलन र मधेश प्रदेशमा लोसपा नेतृत्वको सरकार बनाउने क्रममा मोर्चाका घटक दलहरूबीच गठबन्धनका लागि भएको सहकार्यले थप मोर्चाबन्दीको वातावरण बनेको हो । जसपा नेपाल, लोसपा नेपाल र जनमत पार्टी अहिले एकै गठबन्धनमा आउनुले पनि मधेशको राजनीतिक वृत्त गर्माएको छ ।

यसअघि मधेशमा जनमत र लोसपा सत्तामा रहे पनि जसपा भने विपक्षमा थियो । तर, पछिल्लो समय लोसपाका जितेन्द्र सोनल नेतृत्वको सरकार बनाउने सवालमा लोसपासँगै जसपा र जनमत पनि एकसाथ गठबन्धनमा समाहित भएपछि त्यसले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको उक्त बैठकले आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा मोर्चाका घटक दलहरू मिलेर जाने निर्णय गर्‍यो ।

दुवै निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष तथा शान्त वातावरणमा सम्पन्न गर्नका लागि मोर्चाले सोही बैठकबाट नेपाल सरकारसँग माग गर्दै निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

मोर्चामा उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा ) नेपाल, महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सीके राउतले नेतृत्व गरेको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहित ७ राजनीतिक दल आबद्ध छन् । तर, पछिल्लो केही समयदेखि मोर्चाको बैठकमा जनमत सहभागी हुन छाडेकोमा मंसिर ६ गते बैठक बस्दा   जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतका दाइ समेत रहेका उपाध्यक्ष डा. जयकान्त  राउत पनि सहभागी भएका थिए ।

विगतमा रुपन्देही- ३ को उप-निर्वाचनमा मोर्चाले सँगै मिलेर जाने निर्णय गर्दा जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेर मोर्चाको बैठकमा जान छाडेको थियो । तर, जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिवेशसँगै जनमत पार्टी पुनः मोर्चामा सहभागी भएको छ ।

मधेश मुद्दाका लागि संघर्ष गर्ने विषयमा सहकार्य गर्नका लागि मोर्चा गठन भएको हुनाले चुनावको विषयमा पार्टीले आ-आफ्नो स्वायत्त निर्णय गर्न पाउने आचारसंहिताबमोजिम नै विगतमा मोर्चामा जनमत आबद्ध नभएको जनमतका उपाध्यक्ष जयकान्त राउत बताउँछन् ।

‘मोर्चा जतिबेला बन्यो, त्यतिबेला नै चुनाव लड्न दल स्वतन्त्र हुने, मधेशको मुद्दामा मात्र एक हुने भन्ने कुरा थियो । मोर्चामा चुनावी गठबन्धन हुने कुरा थिएन,’ राउतले भने, ‘रुपन्देहीमा हामीले आफ्नो छुट्टै उम्मेदवार उठाउने कुरा गरेका थियौं, तर मोर्चाबाट अलग भएका थिएनौं । हामीले आफ्नो फरक मत र फरक बाटो मात्र समातेका थियौं ।’

चुनावी गठबन्धनमा आफूहरू अझै पनि नरहेको उनले खुलाए ।

‘हामीले अझै पनि यसलाई चुनावी मोर्चाको रूपमा लिएका छैनौं । हाम्रो तर्फबाट ६ गतेको बैठकमा पुनः त्यो अडान कायम राख्यौं,’ उनले थपे, ‘कसैले पार्टी एकता गर्न चाहन्छ भने एकता गर्न सक्छ । तालमेल गर्न चाहन्छ भने तालमेल पनि गर्न सक्छ । एकल चुनाव चिह्नमा जान खोज्छ भने त्यो पनि पाउनुपर्छ । कसैलाई कुनै पनि किसिमको बाध्यता छैन ।’

चुनावको सन्दर्भमा जनमत पार्टीको हकमा अहिले केही पनि निर्णय नभएको उनी बताउँछन् ।

‘राष्ट्रिय सभाको चुनावका लागि अहिले पार्टीभित्र वर्कआउट जारी रहे पनि प्रतिनिधि सभाका लागि पार्टीको दृष्टिकोण बनिसकेको छ,’ उनले थपे, ‘प्रतिनिधिसभामा हाम्रो आफ्नो पकड भएको स्थानमा हामी आफ्नै उम्मेदवार उठाउँछौं । पकड नभएको स्थानमा सीट शेयरिङ गर्न पनि तयार छौं ।’

तीन दलबीच एकल चुनाव चिह्नमा लड्ने सहमति

मोर्चाभित्रकै दुईघटक दल र मोर्चा बाहिरको एक दलबीच मंसिर ७ गते एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमति भयो । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको दल जसपा, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति  पार्टीबीच एकल चुनाव चिह्नमा लड्ने सहमति भएको हो ।

उनीहरूबीच नागरिक उन्मुक्तिको कायम रहेको जाँतो चुनाव चिह्नमा एकसाथ चुनाव लड्ने सहमति भएको हो ।

राई नेतृत्वको पार्टीबाट सोही दिन संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा केही नेताहरू नेपाली कम्युनिष्ट पार्टीसँग एकीकरण र ध्रुवीकरण गर्ने भेनर अलग्गिएका थिए ।

श्रेष्ठका अलावा उपाध्यक्षद्वय रणध्वज लिम्बू र परशुराम बस्नेत, सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, विज्ञ परिषदका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु नेकपामा समाहित हुन लागेका हुन् ।

एकातर्फ दलहरूबीच तालमेल वा एकल चुनाव चिह्नमा लड्ने सहमति भइरहेपनि अर्कातर्फ दलहरूले आ-आफ्नो छुट्टा-छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेर अस्तित्व देखाइरहेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाले २८ बुँदे माग राखी विरोधका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ ।

जिल्ला स्तरीय, प्रदेश स्तरीय विरोध सभाहरू आयोजन गर्ने तथा आवश्यकताअनुसार थप विरोधका कार्यक्रमहरू गर्दै जाने गरी संघर्षका कार्यक्रमहरू जसपाले सार्वजनिक गरेको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमन भने यसलाई स्वाभाविक मान्छन् । मधेशकेन्द्रित दलहरूबीच अहिले आएर थप सामिप्यता बढ्दै गए पनि अस्तित्व रहेसम्म आ-आफ्नो कार्यक्रम गर्नुलाई स्वाभाविक लिनुपर्ने उनको कथन छ ।

लोसपा र जसपाबीच पार्टी एकताको विषयमा कुराकानी तथा वार्ता भइरहेको उनले बताए ।

‘जसपा र लोसपाबीच पार्टी एकताको विषयमा छलफल तथा संवाद दुवै अध्यक्षको स्तरमा भइरहेको छ,’ सुमनले भने, ‘त्यहाँ अन्य कुनै पनि तहको कार्यदल बनेको छैन । त्यसैले दुवैजना अध्यक्षबीच समझदारी कायम भएकै दिन दुई पार्टीबीच एकता हुनसक्छ ।’

त्यसबाहेक संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध रहेका दलहरू तमलोपा र जनता प्रगतिशील पार्टीबीच पनि एकताका लागि दोस्रो तह, तेस्रो तहका नेताहरूमा द्वीपक्षीय संवाद भइरहेको उनले खुलाए ।

६ गतेको मोर्चाको बैठकमा एकल चुनाव चिह्नमा लड्ने कुराको विषयमा प्रस्ताव आए पनि जसपा र लोसपा त्यसका लागि तयार नभएको उनले खुलाए ।

‘हामी जसपा र लोसपा एकल चुनाव चिह्नका विषयमा सहमत भएनौं,’ उनले थपे, ‘एकल चिह्नमा चुनाव लड्दा समानुपातिक सूची पेश गर्न कठिनाइ हुने, चुनावपछि संसदीय दल कस्तो बन्ने भन्ने कानूनी समस्या समेत उत्पन्न हुने हुनाले लोसपा र जसपा त्यसमा सहमत नभएका हुन् ।’

उम्मेदवार मनोनयन गर्ने दिनसम्म पार्टीहरूबीच चुनावी तालमेल वा गठबन्धनको सम्भावना रहेको उनले बताए ।

अर्कातर्फ, लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झा भने मधेश आन्दोलनताका आठबुँदे सम्झौताका हस्ताक्षरकर्ता तीन नेताहरू अहिले पुनः एकै पार्टीमा आउनुपर्ने मत बढेको बताउँछन् ।

‘तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तीन मधेशी नेताहरू अहिले छुट्टा-छुट्टै पार्टीमा हुनुहुन्छ,’ झाले भने, ‘कम्तीमा पनि चुनावसम्म ती तीन राजनीतिक दलबीच र मोर्चामा आबद्ध रहेका अन्य दलबीच पनि एकता गर्नेगरी सबै पार्टीसँग छुट्टा-छुट्टै छलफल, संवाद भइरहेको छ । तर, नतिजा भने आइसकेको छैन ।’

चुनावअघि केही न केही परिणाम आउनेमा उनी विश्वस्त छन् ।

‘हाम्रो ध्यान सके पार्टी एकता, नभए पनि चुनावमा गठबन्धन गरेर नै जाने हो,’ झाले थपे, ‘त्यसका लागि संघीय लोकतान्त्रिक मोर्चामा नै पटक-पटक छलफल भइसकेको छ ।’

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय