गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् ।

प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको छ ।

थानकोट वृत्तको नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका हुन् । तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी छन् ।

गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताए । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीलाई पनि रासन सुविधा वृद्धि गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।’

आन्दोलनमा प्रहरी कर्मचारीको क्षति भएको व्यक्तिगत सामग्रीलाई कसरी पूर्ति गर्ने भन्नेबारे छलफल भइरहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय