गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले भोट दिन पाउने कानुनको मस्यौदा गरिसकेको बताएका छन् । बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीहरूले मत हाल्न पाउने गरी कानुनको मस्यौदा गरे पनि अहिले नै निश्चित भने भैनसकेको बताएका हुन् ।
‘कानुनको मस्यौदा गरेर निर्वाचन आयोग पठायौँ, त्यहाँबाट आएको सुझाव समेटेर कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन मन्त्रालयले आफ्ना सुझाव पनि समेटेर गृह मन्त्रालयमा पठाउँछ ।’
मन्त्री अर्यालले यसबारे विभिन्न स्टेक होल्डरहरुसँग छलफल गर्नुपर्ने आवश्यकता देखिए र समय रहे त्यस्तो छलफल पनि गरिने जानकारी गराए । मन्त्री अर्यालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग सम्बोधन गर्न हर सम्भव प्रयास गरिरहेको बताए ।
‘२ वटा माग छ । आउट अफ कन्ट्री र आउट अफ कन्स्टिच्युसी’, उनले भने– ‘हामीले यसलाई सम्भव तुल्याउँछौ भनेर लागिरहेका छौ अहिले सम्म ।’
उनले प्राविधिक विषयमा विज्ञले भनेको कुरा मान्नुपर्ने बाध्यता रहेको भन्दै उचित समयमा निष्कर्ष दिने बताए । आन्दोलनमा घुसपैठ वा अरू स्वार्थबारे सांसदहरूले राखेको प्रश्नमा यसबारे आयोगले नै जवाफ दिनुपर्ने बताए ।




