हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ ।

त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत धनप्रसाद पण्डितले भने, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ ।’

उनका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

त्यसयता उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय