
नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ।
पार्टीको तर्फबाट मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्यमा ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख गरेको छ। वक्तव्यमा शान्तिपूर्ण प्रदर्शनको आवरणमा नियोजित रुपमा अपराधिक समूहहरूले देशव्यापी आतंक मच्चाएको र राजनीतिक दल तथा नेताहरूमाथि लक्षित आक्रमण गरेको दाबी गरिएको छ।
कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हट्न, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोधमूलक राजनीति नगर्न आग्रह गरेको छ।