पुल महाशाखा प्रमुख खनालले ठेकेदारले पुल डिजाइनको काम अन्तिम चरणमा पुर्याएको जानकारी आफूले पाएको बताए । उनका अनुसार चीनको प्रतिष्ठित सरकारी विश्वविद्यालयका एकजना प्रोफेसरले पुलको डिजाइन गरेका छन् । त्यसको काम अन्तिम चरणमा पुगेर महाशाखामा पेश गर्ने तयारी भएको जानकारी ठेकेदारले गराएको उनले बताए ।
डिजाइनका लागि चिनियाँ विज्ञहरूको टोली पुल बनाउने ठाउँमा आएर स्थलगत निरीक्षण गरेर फर्किएका थिए ।
पुल महाशाखा प्रमुख खनालले पुलको डिजाइन तयार गरेर महाशाखामा पेश गरेपछि त्यसको सबै अध्ययन सकेर पास गरेपछि मात्रै निर्माणको काम बढ्ने बताए । चालु आर्थिक बर्ष भित्र पुलको काम थाल्न नसकिने र अर्को आर्थिक वर्षको हिउँदमा मात्रै फिल्डमा काम हुन सक्ने खनालको भनाइ छ ।
ठेकेदारले पहिले भारतीय कम्पनीबाट डिजाइन गराए पनि त्यसलाई महाशाखाले चित्त नबुझाएपछि चिनियाँ विज्ञहरूले पुलको डिजाइन गरेका हुन् । डिजाइनमै समय खर्चिएपछि महाशाखाले ठेकेदारलाई पेनाल्टी तिराउने तयारी गरेको थियो । तर सरकारले म्याद थप गरिदिन सहजीकरण गरिदिएपछि ठेकेदार कम्पनी पेनाल्टीबाट बचेको छ ।
नयाँ पुल बने पनि पुरानो पुल कायमै रहने
वि.सं २०३८ साल अघिसम्म नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । २०४२ सालमा अहिलेको नारायणी पुल बनेको थियो । यो पुल पुरानो र जीर्ण बन्दै गएको छ ।
साथै, भरतपुर क्षेत्रमा र पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा राजमार्ग विस्तार भएर चार लेन भएकाले पुलसमेत फराकिलो बनाउनुपर्ने अवस्था छ । नयाँ पुल बने पनि पुरानो पुल कायमै रहनेछ ।
नयाँ बन्ने सिग्नेचर पुल साढे सात मिटर फराकिलो हुनेछ । त्यसमा दुईवटा लेन र साढे तीन मिटरको फुटपाथ हुनेछ । लम्बाई अहिलेको पुलको जतिकै ४२० मिटर नै हुनेछ ।
सिग्नेचर बिज्र भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिलर रहनेछन् । दुई पिलरबीच २१० मिटरको दूरी हुनेछ ।
जम्मा चार वटा पिल्लर रहने यस पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन तयार थियो । अब बन्ने डिजाइनमा पनि यस्ता फिचरहरु राखिने महाशाखाले जनाएको छ । महाशाखाले दिएको न्यूनत्तम फिचरहरु राखेर डिजाइन आउने महाशाखाको विश्वास छ । पुल आकर्षक आधुनिक र सुन्दर बन्ने महाशाखाले जनाएको छ ।




