‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए,’ ओलीले सांसदहरूलाई ब्रिफिङ गर्दै भने, ‘…सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो त्यो बुझ्दिनँ ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गरेका छन् ।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको बताए ।
‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ संसदीय दलको बैठकमा ओलीले भने ।
उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे ।