सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर इजलास बुटवलले थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला भैरहवास्थित रूपन्देही कारागारमा छन् ।

पूर्व गृहमन्त्री एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेलाई सुप्रिम सहकारीको निक्षेप हिनामिनामा जिल्ला अदालत रूपन्देहीको आदेश उल्ट्याउँदै चैत २५ गते उच्च अदालतले जेल चलानको आदेश दिएको थियो । ११ दिनदेखि कारागारमा रहेका लामिछानेलाई भेट्न शुरूका दुई/तीन दिन नेता/कार्यकर्ताको भीड लागेको थियो । अहिले भने भेट्न आउनेहरू घटेका छन् । पछिल्ला दिनमा उनको परिवार र सचिवालयका सदस्य मात्र भेट्न पुग्ने गरेका छन् ।

भीआईपी कैदी लामिछाने आफैंले पनि नेता/कार्यकर्ता भेट्न रुचि नदेखाउने गरेको कारागार स्रोतले जानकारी दियो ।

रवि पूर्वगृहमन्त्री भएकाले उनलाई ल्याउँदा केही समस्या पर्छ कि भनेर सचेत र सर्तक बनेको कारागार प्रशासन रविले सरल व्यवहार देखाइरहेको बताउँछ ।

‘उहाँ (रवि) ‘चिल’ मा बस्नुहुन्छ,’ कारागार स्रोतले भन्यो, ‘पुस्तक पढेकोपढ्यै गर्नुहुन्छ । केही अप्ठ्यारो छ कि सर ? भनेर सोध्दा ठीक छ, कारागार न हो, मलाई बढी केही चाहिँदैन, यसैमा खुशी छु भनेर मुसुक्क हास्नुहुन्छ ।’

रविले कारागारभित्र सबैलाई पकाउने सामान्य दाल, भात र तरकारी खान्छन् । स्रोतका अनुसार रविले अहिलेसम्म केही अपुग भयो भनेर मागेका छैनन् ।

भैरहवाको आवा रोडस्थित कारागारमा उनले अंग्रेजी र नेपाली भाषाका पुस्तकहरू पढ्ने गरेका छन् । केही दिनअघि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भेटेर रविलाई केही पुस्तक उपहार दिएका थिए । आफूले बुद्ध दर्शन, माक्सवाद तथा नेपाली विशिष्टताको समाजवादसम्बन्धी पुस्तक दिएको भट्टराईले बताए ।

भेट्न आउनेहरूसँग रविले आफू निर्दोष रहेको दाबी गर्ने गरेका छन् । उनलाई टेलिफोन र रेडियो सुन्ने सुविधा उपलब्ध गराइएको छ ।

बिहानै उठ्ने रविले आफ्नो बिस्तरा मिलाउने र शारीरिक व्यायाम गर्ने गर्छन् ।

बाहिरी भेटघाटका लागि उनलाई हप्तामा ३ दिन (सोम, बुध र शुक्रबार)को समय छुट्ट्याइएको छ । उनले शुभचिन्तकहरूसँग सर्वोच्चको आदेशबाट छुट्ने विश्वास समेत व्यक्त गर्ने गरेका छन् ।

सर्वोच्च अदालतले सुप्रिम सहकारीको ठगी मुद्दाको सबै फाइल तथा कागजात ‘स्क्यान’ गरी ‘अपलोड’ गर्न (कैफियत प्रतिवेदन पेश गर्न) रूपन्देही अदालतका नाममा आदेश दिएको छ ।

उच्च अदालतको बुटवल इजलासले आफूलाई थुनामा पठाउने भनी गरेको आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

रवि र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध एउटै सुप्रिम सहकारीको निक्षेप दुरुपयोगसम्बन्धी मुद्दा परेको हो । जोशी पनि जिल्ला कारागार रूपन्देहीमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
3
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय