नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र सरकारको समर्थन गरेको जसपा नेपाल सकारात्मक नभएपछि सत्तारुढ दल ‘ट्र्याक टु’ अन्तर्गत अन्य दलसँग छलफल गर्ने निर्णयमा पुगेका हुन् ।

सोही अनुसार शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेसका केही नेताहरूबिच भएको छलफलमा संसदबाट अध्यादेश स्वीकृत गर्न आवश्यक बहुमत पुर्‍याउन पहल गर्ने र त्यसक्रममा एकीकृत समाजवादीसँग छलफल गर्ने निचोडमा कांग्रेस पुगेको हो ।

‘हामीसँग सहयोग माग्नुपर्छ भन्ने कांग्रेसको धारणा हुनु स्वाभाविक हो । कुरा गर्न पनि सकिन्छ । तर त्यसबारे कांग्रेसले औपचारिक प्रस्ताव ल्याएको छैन’, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले  भने, ‘औपचारिक रूपमा कुराकानी भयो भने त्यसबेला नै थप कुरा होला ।’

नेता पाण्डेले अध्यादेशबारे आफ्नो पार्टीले अस्वीकारको सूचना समेत दर्ता गराएको भन्दै अध्यादेशमा धेरै कुरा बेठिक पनि रहेको बताए ।

उनले सत्तापक्षले अध्यादेश संशोधन गर्ने प्रतिबद्धता जनाए सहयोग गर्न सकिने संकेत पनि गरे । ‘सत्ता साझेदारीको आशा गरेर बेठिक कुराको साथमा त जान सकिन्न होला । कांग्रेसले निर्णय गर्‍यो भने आउला नि त’, पाण्डेले भने, ‘बच्चा नजन्मिँदै भोटो सिउने जस्तो मात्र हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय