
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले राजनीतिक सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै श्रेष्ठले शान्ति प्रक्रिया छिटो टुंगो लगाउन त्यस सम्बन्धी आयोगमा छिटो पदाधिकारी नियुक्त गर्नुपर्ने बताए ।
आज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज आयोजित पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।
यसअघि सरकारले दुईवटा आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरे पनि त्यो समितिले सहमति नजुटेको भन्दै सिफारिस गर्न सकेको थिएन । त्यसैले अर्को सिफारिस समिति तत्काल गठन गर्नुपर्ने श्रेष्ठले बताए ।