‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरको योजनामा न्युरोडका बासिन्दा तगारो बनिरहेका छन् । न्युरोड सवारीसाधनकै लागि बनाइएको स्थानीयको जिकिर छ ।
उनीहरूले ‘सेभ न्युरोड’ भन्दै ठाउँ ठाउँमा ब्यानर टाँगेका छन् । सवारी निषेध गरिएमा उनीहरूले भनेझैं व्यापार ठप्प नै हुन्छ त ? यो अध्ययनको विषय हो । तर, विश्वका ठूला सहरले पनि ‘नो भेहिकल जोन’को अवधारणा अघि सारेका छन् ।
जसले गर्दा ट्राफिक कम गर्नुका साथै वातावरणीय संरक्षण र दुर्घटना न्यूनिकरणमा प्रभावकारी भूमिका खेलेको देखिन्छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा सूचिकृत सम्पदा क्षेत्र लगायत न्यूरोड, हाँडीगाउँ जस्ता प्राचीन, पुरातात्विक र विशेष महत्वका क्षेत्रहरूलाई ‘नो भेहिकल जोन’को रुपमा विकास गर्ने प्रस्तावअघि सारेको छ ।
महानगरको यो योजना व्यवहारीक नहुने भन्दै न्यूरोडका स्थानीय र व्यपारी आन्दोलित बनेका छन् । ‘भेहिकल फ्रि जोन’ धोका भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । यसअघि काठमाडौं महानगरले बसन्तपुर दरबार क्षेत्रमा पूर्ण रुपमा सवारीलाई निषेध गरिसकेको छ ।
विश्वका धेरै शहरहरूमा ‘नो–कार जोन’ प्रचलन बन्दै गएको छ । त्यसैको देखासिकी काठमाडौंका महानगरका मेयर बालेन शाहले पनि गर्न खोजिरहेका छन् । मुख्यतः वातावरणीय उद्देश्यले नो–कार जोन सञ्चालित भएपनि ट्राफिक कम गर्न सहयोग पुग्छ ।
पैदल र साइकल यात्रीहरूलाई यसले प्रोत्साहन गर्नुका साथै शान्त, सुरक्षित र कम तनावपूर्ण यात्रा बनाउँछ । ‘नो–कार जोन’ वा ‘नो भेहिकल जोन’ वा ‘भेहिकल फ्रि जोन’ जे भने पनि यसले निश्चित क्षेत्रहरूमा सवारी साधनको पहुँचलाई प्रतिबन्धित गर्दछ ।
विभिन्न देशका ठूला सहरमा लागू गरिएको ‘नो–कार जोन’ को प्रभावकारिता वातावरणीय संरक्षणमा मात्रै नभएर दुर्घटना न्यूनिकरणमा पनि देखिएको छ । अधिंकाश विकसित मुलुकका शहरमा पैदल मार्गहरू फराकिलो बनाएको देखिन्छ भने नागरिकलाई सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको पाइन्छ ।
के छ विश्वको अभ्यास ?
पेरिसका मेयर एनी मारी हिडाल्गोले अघि सरेको सवारीको संख्या घटाउने महत्वाकांक्षी योजना सबैभन्दा प्रभावकारी भएको मानिन्छ । पुराना पेट्रोल र डिजेल गाडीहरू शहरबाट प्रतिबन्ध गरिएको छ भने २०२४ सम्ममा डिजेल र २०३० सम्ममा पेट्रोलका सवारीलाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने योजना छ ।
त्यस्तै, बेलायतमा ‘कार फ्री मेगासिटी’ अभियानलाई तिब्र पारिएको छ । बर्लिनमा तीन मध्ये एक जनासँग मात्र कार हुने गरेको छ । हालैमात्र संसोधन गरिएको ऐनमा पैदल र साइकल यात्रीका लागि थप सहजताको लक्ष्य राखिएको छ । त्यहाँका स्थानीयहरूले स्वस्थ जनमैत्री सहरको लागि अभियान चलाइरहेका छन् ।
जब २० औं शताब्दीमा क्युरिटिबा आधुनिक सहरका रुपमा विस्तार भयो, त्यहाँ सवारीका लागि चौडा सडकहरूको सट्टा पैदल यात्रुका लागि सहज सडक बनायो ।
पार्क र वृहत वृक्षरोपणको योजनाले ब्राजिलले ‘पर्यावरणीय राजधानी’को उपनाम पायो । त्यस्तै ‘फ्राइबर्ग’ सहरलाई जर्मनीको वातावरणीय राजधानी भनिन्छ ।
फ्राइबर्गमा सार्वजनिक यातायातलाई प्रोत्साहन गरिएको छ भने अधिंकाशको रोजाइमा पैदलयात्रा नै पर्ने गरेको छ ।
जकार्तामा शहरको मुख्य सडकहरूमा हरेक आइतबार ‘कार फ्रि’ गरिन्छ । रुवाण्डाको राजधानी ‘किगाली’मा पनि हरेक महिनाको पहिलो र तेस्रो आइतबार ‘कार फ्री डे’ गरिएको छ ।
नर्वेको ओस्लो शहरमा २०१९ यता सडक दुर्घटनामा एक जना पैदल वा साइकल यात्रीको मृत्यु भएको तंथ्याक छैन ।
यस्तै प्रयोग काठमाडौंका केही ठाउँमा पनि गरिसकिएको छ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन भन्दै झन्डै एक वर्षदेखि प्रत्येक शनिबार काठमाडौंको हाँडीगाउँलाई गाडीरहित दिन बनाइएको छ ।
हाँडीगाउँ र विश्वका ठूला शहरहरूको उदहारण हर्ने हो भने ‘नो भेहिकल जोन’ काठमाडौंमा पनि प्रभावकारी बन्न सक्छ । एकै पटक सवारी निषेध गर्नु भन्दा हप्ता वा महिनामा एक दिन लागू गर्दा त्यसको आवश्यकता र औचित्य पुष्टि गराउन सहज हुने देखिन्छ ।
बढ्दो सहरी जनसंख्या र सवारीसाधनहरूले मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा पु¥र्याएको खतरा कम गर्न प्रभावकारी कदम चाल्नैपर्छ । निहित स्वार्थमा यस्ता योजनाहरुको विरोधमा उत्रि हाल्नु सान्दर्भिक देखिदैन । यद्यपि यस्ता विषयमा महानगरले स्थानीयलाई यसको फाइदा बेफाइदाकार बारेमा छलफल चलाउन जरुरी छ ।