उद्यमशीलताको विकास गरेर उत्पादकत्व बढाउनैपर्ने भन्दै ओलीले त्यसको बाटो मुलुकको बजेट भएको बताए । त्यसैले संसदमा एक–दुई जनाको मुख हेरेर बजेटमाथिको छलफललाई कमजोर नबनाउन उनले सांसदहरुलाई आग्रह गरे ।
‘एक–दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भो र देश हामी सरकारमा छदैछौं भनेर हुन्छ ?’, ओलीले प्रश्न गरे, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर देशलाई विकासतर्फ अगाडि बढाउन हामी सरकारमा गएको हो, त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’
उनले एमालेकै नेताहरुले सम्हालेको मन्त्रालयको विनियोजनमाथि पनि पर्याप्त छलफल गर्न आग्रह गरे । ‘हामीले नै चलाइरहेका मन्त्रालयको कस्तो छ स्थिति ? कस्तो छ त्यसको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस्’, ओलीले भने ।
बजेटमाथि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आलोचना गर्ने भन्दा पार्टीको बैठकमा छलफल गर्नु उचित हुने बताए ।
‘बाहिर बजारमा भन्दै हिँड्ने, कुनै फेसबुकले तपाईको कुरा सच्याएर ल्याइदिँदैन, ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव र ठीक ठाउँको निर्णयले मात्र स्थितिमा परिवर्तन आउँछ’ ओलीले भने, ‘…तर हामीले फेरि खण्डन मण्डन त गर्नुपर्ने हुन्छ ।’