सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो ।
अनुसन्धानका क्रममा तत्कालिन सेन्चुरी कमर्सियल बैंकले कमसल धितोमा बढी ऋण प्रवाह गरेको र चौलागाईंले उक्त ऋण दुरुपयोग गरेको पाइएपछि सिआईबीको अनुसन्धान बैंकका कर्मचारीहरूतर्फ मोडियो । पदको दुरुपयोग गरि अपराधिक मनसायले कमसल धितोमा बढी ऋण प्रवाह भएको सिआइबीको प्रारम्भिक निष्कर्ष छ ।
आर्थिक मन्दी र बैंकहरूको बदमासीका कारण निक्षेकर्ताहरू आफ्नो बचत असुरक्षित भएको महसुस गर्छन् । सहकारी डुबेपछि सडकमा भौतारिएका बचतकर्तालाई तत्कालिन सेन्चुरी कमर्सियल बैंक घोटाला प्रकरणले थप तरगिंत बनाएको छ ।
हुनतः सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकसँग मर्ज भैसक्यो । तर, दुई अर्ब ३० करोड ८१ लाख बदमासी गरेको आरोपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षदेखि सञ्चालक समितिका सदस्यहरू पक्राउ पर्ने क्रम रोकिएको छैन । हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।
२०८० फागुन १७ गते सीआईबीले प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको थियो । न्यौपाने पक्राउको कडि सहकारीसँग नै जोडिएको छ ।
सेन्चुरी बैंकले एक अर्ब १४ करोड २३ लाख रुपैयाँको धितो मूल्यांकनमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ देउराली बहुउद्देश्य सहकारीका सञ्चालक आबद्ध भएका कम्पनीहरूमा ऋण प्रवाह गरेको थियो ।
कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जा विभागको नेतृत्व गर्ने कर्मचारी, डेपुटी सीईओ तथा सीईओलाई निश्चित रकमको ऋण प्रवाह गर्ने पाउने गरी सीमा तोकिएको हुन्छ ।
वाणिज्य बैंकको सञ्चालक समितिले बैंकका सीईओलाई न्यूनतम २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म ऋण दिन सक्ने अख्तियारी प्रदान गर्ने अभ्यास छ । तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक समितिले सीईओलाई अधिकतम् ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने अख्तियारी दिएको थियो ।
सञ्चालक समितिले सीईओलाई ४५ करोड रुपैयाँ फण्डेड र ३० करोड रुपैयाँ नन् फण्डेड अन्तर्गत गरी कुल ७५ करोड रुपैयाँ ऋण लगानी गर्न सक्ने अख्तियारी प्रदान गरेको थियो ।
चार करोड अपचलन गरेका रविन्द्र चौलागाई
तत्कालिन सेन्चुरी कमर्सियल बैंकबाट धितो मूल्यांकनको दोब्बर कर्जा लिएका रविन्द्र चौलागाई देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष हुन् । चौलागाइँले विभिन्न १० वटा आफू र आफन्तको नाममा कम्पनी खोलेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।
उक्त कम्पनीको नाममा चौलागाईँले उपत्यकाका विभिन्न स्थानमा जग्गा किनेका छन् । तिनै जग्गा धितो राखेर बैंकबाट ऋण लिए तर तिरेनन् ।
तत्कालिन सेञ्चुरी बैंकको ट्रयाक रेकर्ड
बैंकले मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटलाई कारोबार बापतको भुक्तानी रकम नदिएपछि तत्कालिन सेञ्चुरी बैंकमा भएको १६ करोड रुपैयाँबराबरको रकम अपचलनको भएको थियो ।
सेञ्चुरी बैंक र एमएण्डएम रेमिटबीच भएको सम्झौताबमोजिम दुवै कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दै आएका थिए । पछि सेञ्चुरीले हङकङमा रहेको ग्यालेक्सी रेमिट्यान्स कम्पनीसँग पनि कारोबार थाल्यो ।
जुन, सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवनकुमार भट्टराई र सञ्चालक समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको संलग्नतामा खुलेको कम्पनी हो ।
सेञ्चुरीका अध्यक्ष श्रेष्ठ कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठका आफन्त हुन् । यो सँगै ग्राहकको किर्ते हस्ताक्षर गरि बैंकको खाताबाटै पैसा चोरीसमेत भएको थियो ।
सोमबार पक्राउ परेका तत्कालिन सञ्चुरी कमर्सियत बैकका कर्मचारी तथा पदाधिकारीहरूले अपराधिक मनासयका साथ नियोजित रुपमा नक्कली कागजातको आडमा आ–आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरेको सिआइबीले जनाएको छ ।
उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भैरहेको छ ।