गण्डकी प्रदेशमा बेरुजु ८० करोड थपिएको छ । महालेखा परीक्षकको कार्यालयले तयार गरेको ६१ औँ प्रतिवेदन अनुसार गण्डकीमा थप ८० करोड १६ लाख बेरुजु देखिएको हो । योसँगै गण्डकीमा हालसम्म २ अर्ब ६८ करोड बेरुजु कायम छ । यो वर्ष अघिल्लो वर्ष भन्दा २५ प्रतिशत बेरुजु बढेको हो । असुल गर्नुपर्ने २४ करोड ५६ लाख रुपैयाँ छ । जुन पूरा बेरुजुको ३० प्रतिशत भन्दा बढी हो ।

४३ करोड १८ लाख नियमित गर्नुपर्ने खालको बेरुजु छ भने १२ करोड ४१ लाख पेस्की बेरुजु छ । नियमित गर्नुपर्नेमा पनि २२ करोड ८६ लाख अनियमित भएको बेरुजु छ भने २० करोड ३२ लाख प्रमाण वा कागजात पेस नभएको बेरुजु छ । सबैभन्दा बढी भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको मात्रै ४५ करोड ७५ लाख रुपैयाँ बेरुजु छ ।

भौतिक मन्त्रालयको २० करोड ४७ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ । लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु देखिएको छैन । अघिल्लो वर्षसम्म गण्डकीमा २ अर्ब १८ करोड बेरुजु रहेकामा २९ करोड ७९ लाख रुपैयाँ सम्परीक्षण गरी ३ करोड ७३ लाख रुपैयाँ समायोजन गरिएको थियो । वर्षको अन्त्यमा हुने ठुलो आकारको रकमान्तरलाई मलेपले प्रश्न उठाएको छ ।गण्डकीले २ अर्ब ४ करोड २२ लाख बर्खान्तमा रकमान्तर गरेको छ ।

स्वीकृत बजेटको रकम अर्को बजेट उपशीर्षक स्रोत वा खर्च शीर्षकमा रकमान्तर गर्ने अधिकार आर्थिक मामिला मन्त्रालयलाई छ । यद्यपि आर्थिक वर्षको अन्त्यमा हुने रकमान्तरले नतिजा राम्रो नआउने तर्फ मलेपको संकेत छ । यो वर्ष प्रदेशका २ सय १५ निकायको ४१ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।

लोमान्थाङमा कम बेरुजु

बेरुजु कम हुनेमध्ये लोमान्थाङ गाउँपालिका गण्डकीमै पहिलो बनेको छ । देशभरमा सातौँ र गण्डकीमा पहिलो कम बेरुजु हुने पालिकाको रूपमा लोमान्थाङ दर्ज भएको हो । प्रतिशतका हिसाबले लोमान्थाङमा ०.०१ प्रतिशत अर्थात ५६ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ । अघिल्लो वर्ष पनि लोमान्थाङ सबैभन्दा कम बेरुजु हुने गण्डकीको पहिलो पालिका बनेको थियो । उक्त वर्ष २७लाख ११ हजार थियो । १ प्रतिशत भन्दा कम बेरुजु हुने पालिकामा गोरखाको अजिरकोट, आरुघाट, चुमनुब्री, धार्चे, शहिद लखन र सिरान्चोक, लमजुङका बेंसीशहर र मर्स्याङ्दी, तनहुँको भानु नगरपालिका, भीमाद, आँबुखैरेनी गाउँपालिका र म्याग्दे, मनाङको नार्पाभूमि, पर्वतको पैंयू र महाशिला, स्याङजाको गल्याङ, वालिङ, अर्जुन चौपारी, आँधिखोला, कालीगण्डकी, फेदीखोला र विरुवा, म्याग्दीको बेनी, मंगला र मालिका, बागलुङको जैमिनी र वरेङ, तथा नवलपुरको गैंडाकोट, मध्येविन्दु र विनयी त्रिवेणी गाउँपालिका छन् ।

५० लाख भन्दा कम बेरुजु हुनेहरुमा महाशिलाको ९ लाख ३१ हजार, अर्जुनचौपारी ३६ लाख २३ हजार, आँधिखोलाको १९ लाख ७७ हजार, कालीगण्डकी १५ लाख ८ हजार, फेदीखोला ३९ लाख ७८ हजार, बिरुवाको ३२ लाख ६७ हजार देखिएको छ । यस्तै, चुमनुब्रीको ३६ लाख २४ हजार, मर्स्याङ्दीको २३ लाख ७७ हजार र नार्पाभूमिको १९ लाख ३ हजार छ ।

पोखराको बेरुजु प्रदेशमै धेरै

गण्डकी प्रदेशका ८५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु हुने पालिका पोखरा बनेको छ । रकम र प्रतिशत दुवै हिसाबले पोखराको बेरुजु सबैभन्दा बढी देखिएको हो । एकैवर्ष ७९ करोड २३ लाख अर्थात् पूरा बजेटको ७.९८ प्रतिशत बेरुजु पोखरामा छ । रकमको हिसाबले अरु पालिकाको ८ करोड भन्दा कम बेरुजु छ । प्रतिशत भने पोखरासँग हाराहारी पुग्ने पनि छन् । बागलुङको निसीखोला र ताराखोला गाउँपालिकाको बेरुजु ७ प्रतिशत भन्दा बढी छ । निसीखोलाको ७ करोड ७२ लाख र ताराखोलाको ६ करोड ३२ लाख देखिएको हो । यस्तै, ५ करोड भन्दा बढी बेरुजु भएका दर्जन पालिका गण्डकीमा छन् । काठेखोलाको ५ करोड ७७ लाख, बागलुङ नगरपालिका ५ करोड ३४ लाख, देवघाटको ५ करोड ३६ लाख, व्यास नगरपालिकाको ५ करोड ६७ लाख रुपैयाँ बेरुजु छ ।

gandaki table

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय