उनका अनुसार हालसम्म विभागले भारी वर्षा र बाढीको पूर्वजानकारी एसएमसमार्फत् उपलब्ध गराउँदै आएकोमा अब प्राकृतिक विपद्सम्बन्धी सबै घटनाको जोखिमबारे जानकारी दिने तयारी भइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विगत ५० वर्षको अवधिमा विषम जलवायुका घटनाबाट २० लाख मानिसहरुको मृत्यु भएको छ । मृतकहरुमध्ये ९० प्रतिशत व्यक्तिहरु विकासशील राष्ट्रका नागरिक छन् । त्यसैले संयुक्त राष्ट्रसंघले जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरणमा जोड दिँदै आएको छ ।
पूर्वसूचना नपाएकै कारण कसैले पनि जनधनको क्षति व्यहोर्नु नपरोस् भनेर राष्ट्रसंघले सन् २०२२ मा ‘अर्ली वार्निङ फर अल’ नामको पञ्चवर्षीय योजना अघि सारेको थियो । सो योजना अन्तर्गत सन् २०२७ भित्र सबैको पहुँचमा पूर्वचेतावनी प्रणालीको पहुँच पुर्याइसक्ने लक्ष्य छ ।