मुलुकको कृषि क्षेत्रमा कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी नागरिक निर्भर रहे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । केही वर्षयता नेपालको जीडीपीको संरचना परिवर्तन हुँदै जाँदा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव पाँच प्रतिशत रहेको छ भने गैरकृषि क्षेत्रको हिस्सा ७५ दशमलव पाँच प्रतिशत पुगेको छ । गैरकृषि क्षेत्रको हिस्सामध्ये औद्योगिक क्षेत्रको १३ प्रतिशत र सेवा क्षेत्रहरूको ६१ दशमलव आठ प्रतिशत योगदान छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रमा औद्योगिक क्षेत्रको १३ प्रतिशत र सेवा क्षेत्रको ६१ दशमलव चार प्रतिशत थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव आठ प्रतिशत र गैरकृषि क्षेत्रमा औद्योगिक क्षेत्रको १३ दशमलव एक प्रतिशत र सेवा क्षेत्रको ६१ दशमलव दुई प्रतिशत थियो । आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रको हिस्सामध्ये औद्योगिक क्षेत्रको १४ दशमलव चार प्रतिशत र सेवा क्षेत्रको ६० दशमलव एक प्रतिशत थियो । आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६ दशमलव दुई प्रतिशत र गैरकृषि क्षेत्रमध्ये औद्योगिक क्षेत्रको १४ दशमलव पाँच प्रतिशत र सेवा क्षेत्रको ५९ दशमलव दुई प्रतिशत थियो ।

नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसलाको उत्पादनमा आएको कमीले जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । यी खाद्य उत्पादन हुने क्षेत्रफलमा कमी आएकाले उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको प्रतिवेदनअनुसार पनि खाद्य, तरकारी, फलफूल र मसला उत्पादनमा प्रयोग हुने जमिनको कुल क्षेत्रफल दुई दशमलव एक प्रतिशतले घटेको उल्लेख छ । अघिल्लो वर्षको सोेही अवधिमा सो क्षेत्रफल दुई प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल दुई दशमलव एक प्रतिशतले घटेको छ । गत वर्ष सो क्षेत्रफल नगन्य प्रतिशतले घटेको थियो । समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३० दशमलव दुई प्रतिशत रहेको छ । साथै प्रमुख खाद्य बालीमध्ये मकैको क्षेत्रफल २० दशमलव आठ प्रतिशत र गहुँको क्षेत्रफल १४ दशमलव नौ प्रतिशत, कोदोको क्षेत्रफल पाँच दशमलव आठ प्रतिशत र जौको क्षेत्रफल शून्य दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल पाँच दशमलव नौ प्रतिशतले घटेकोमा बागबानीले ढाकेको क्षेत्रफल शून्य दशमलव छ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा सो बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव पाँच प्रतिशत र एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा फलफूलले ढाकेको क्षेत्रफल एक दशमलव दुई प्रतिशतले बढेको र मसलाले ढाकेको क्षेत्रफल दुई दशमलव चार प्रतिशतले घटेको छ भने गत वर्षको सोही अवधिमा ती बालीले ढाकेको क्षेत्रफल एक दशमलव एक प्रतिशतले बढेको थियो ।

यस्तै, चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, तथा सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल घटेको छ भने कर्णालीमा मात्र खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढेको छ । तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफल कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशमा घटेको छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिममा बढेको छ । समीक्षा अवधिमा मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने कोशी प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल घटेको छ । धान बालीको हकमा भने मधेशमा सबैभन्दा बढी हिस्सा २५ दशमलव नौ प्रतिशत छ भने कार्णाली प्रदेशको सबैभन्दा कम दुई दशमलव सात प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसला)को कुल उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा सो बालीको उत्पादन शून्य दशमलव एक प्रतिशतले घटेको थियो ।

यस्तै प्रमुख बालीको रूपमा रहेको धानको उत्पादकत्वमा भने पछिल्ला वर्षहरूमा सामान्य वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा धान उत्पादकत्व (मेट्रिक टन प्रतिहेक्टरमा) क्रमशः तीन दशमलव आठ प्रतिशत, तीन दशमलव आठ प्रतिशत, तीन दशमलव पाँच प्रतिशत र तीन दशमलव आठ प्रतिशत रहेको छ । कृषि उत्पादनमा देखिएको समस्याहरू पहिचान तथा छनौट भइसक्दा पनि सरकारले त्यसको निराकरणको लागि पहल नगर्दा समस्या घट्न नसकेको हो । विभिन्न अध्ययन प्रतिवदेनले बालीअनुरूप उत्पादन हुने स्थान, सिँचाइ सुविधा, प्रविधिको प्रयोगलगायतका विषयमा स्पष्ट पार्दा समेत सरकारले त्यसलाई कार्यान्वयन गर्न नसक्दा कृषि उत्पादनममा समस्या यथावत् रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार सिँचाइको लागि आकाशेपानीमा भर पर्नुपर्ने तथा आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोगमा वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्यरूपमा वृद्धि हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय