विराटनगर–१० का ६४ वर्षीय गजेन्द्रप्रसाद साह मिटरब्याजको जालोमा परेपछि घरबारविहीन भएका छन् । लिएको ऋणभन्दा चार गुणा बढी रकम तिरिसक्दा पनि साहुले अझै करोडौं तिर्न बाँकी देखाएर घर फिर्ता नगरेपछि उनी बिचल्लीमा परेका हुन् ।
घरजग्गा कारोबार गर्ने साहले १४ वर्षअगाडि विराटनगर महानगरपालिका–७ का संजयकुमार करवासँग २५ लाख रुपैयाँ ऋण लिएका थिए । २०६७ असोज १२ गते करवासँग २५ लाख रुपैयाँ ऋण लिएको उनले बताए । कर्जा लिँदा उनले विराटनगर–१० मा रहेको एक कट्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिताकुमारी साहको नाममा पास गरिदिएका थिए । साहको घरजग्गा अहिले अनिताको नामबाट करवाको नाममा पुगेको छ ।
२५ लाख रुपैयाँको ब्याज र साउँगरी उनले एक करोड १२ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन् । तर, पनि अझै घरजग्गा उनको नाममा फर्किएको छैन । अझै करवाले तीन करोड रुपैयाँ पाउनु पर्ने दाबी गरिरहेको साहले बताए । करवाले भने अनितासँग २६ लाख ११ हजार रुपैयाँमा आफूले घरजग्गा खरिद गरेको बताउने गरेका छन् ।
‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर, साहुले ऋण अझै बाँकी छ भन्न छोडेन,’ पीडित साहले भने, ‘२५ लाख ऋण लिएको हो । अहिलेसम्म १ करोड १४ लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’
साहुले अझै साउँ र ब्याज गरेर तीन करोड बाँकी रहेको भन्दै तिर्न ताकेता गरिरहेको उनको गुनासो छ । ताकेता गरेर हैरान बनाएपछि उनले २०७९ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा करवाविरुद्ध उजुरी दिएका छन् । उजुरी अहिले विचाराधीन छ ।
चलन चल्तीको ऋण भनेर लिएको रकम अहिले ‘मिटरब्याज’को जालोमा जेलिएको उनले बताए । ‘तीन करोड दिए घर फिर्ता गरिदिने भनिरहेका थिए । आइतबार एक्कासि नगर प्रहरी र जिल्लाबाट खटिएको प्रहरी लगाएर घर खाली गराए । घरको सबै सामान बाहिर निकाले । त्यसपछि महानगरमा हारगुहार गरेपछि २१ दिनको समय थप गरिएको छ,’ उनले भने, ‘महानगरले पनि २१ दिनभित्र घर खाली गर्नु भनेको छ । चलन चल्तीको ऋण भनेर लिएको रकम मिटर ब्याजमा असुली गर्न खोजेपछि समस्यामा परेको छु,’ गहभरी आँसु पार्दै साहले भने, ‘वृद्ध अवस्थामा छोराछोरी लिएर अब कहाँ जाउँ ?’
उनले मिटरब्याजमा ऋण लगाएर उठीबास गराउन खोज्ने करवालाई कारवाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।
यता साहु संजयकुमार करवाको दाबी भने फरक छ । उनले साहलाई सयकडा १० का दरले ब्याजमा कर्जा दिएको दाबी गरेका छन् । २५ नभई ५० लाख ऋण दिएको उनको दाबी छ । उनले मिटरब्यजासमेत नलिएको दाबी गरे ।
विराटनगरमा मिटरब्याजपीडित उनी एक्ला होइनन् । विराटनगर–१८ का दिमादिगी र लावघाटका एक दर्जन बढी मिटरब्याजबाट पीडित छन् । उनीहरूले विराटनगर–१८ मटेरूवा घर भएका मिटरब्याजी सुनिल साहबाट पीडित भएको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङमा दिएका छन् । उजुरी दिएको महिनौँ बितिसक्दा पनि साहविरुद्ध स्थानीय प्रशासनले कुनै कारवाही गरेको छैन ।
साहबाट पीडित भएकाहरू विराटनगर–१८ दमादीगीका ४८ वर्षीय दिलीपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, विराटनगर–१८ लावघाटकी ४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह, ४७ वर्षीय नारयण साह र अरुण मण्डलले साहविरुद्ध उजुरी दिएका छन् । पीडितहरूले ११ फागुनमा उजुरी दर्ता गराएका थिए ।
गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २२० भन्दा बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएका थिए । त्यसमध्ये ५७ वटा निवेदनउपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति हुन नसकेपछि अदालत पठाइएको छ । बाँकी १६३ निवेदन विचाराधीन रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।